कोशीमा पाँच सय शय्याको अस्पताल बन्दै, मन्त्रीले गरे निरीक्षण

शुक्रबार, ३० कार्तिक २०८१
इटहरी : विराटनगरस्थित कोशी अस्पतालमा पाँच सय शय्याको अस्पताल निर्माणाधीन रहेको छ । अस्पतालले पाँच सय बेड थप गर्न लागेको हो । नेपाल सरकारको सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएसँगै अहिले निर्माणको काम भइरहेको हो । काठमाडौँको केसी कन्स्ट्रक्सन प्रालिले २०७९ पुस १३ गते सम्झौता गरेर काम गरिरहेको छ । कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सुशीलकुमार झा का अनुसार सम्झौता भएको एक वर्षपछि मात्रै निर्माण सुरु भएको थियो । ‘साइड क्लियरेन्सदेखि विभिन्न समस्याका कारण एक वर्षसम्म काम सुरु भएन,’ उनले भने, ‘अहिले काम भइरहेको छ । थप एक वर्ष म्याद थप भयो भने हामी समयमै काम सक्छौँ ।’ उनका अनुसार २०८२ पुस १२ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि थप एक वर्ष ढिला गरी निर्माण सम्पन्न हुनेछ । ‘एक वर्षमा पुराना बिल्डिङ, वाटर पाइपलाइन व्यवस्थापनलगायत साइड क्लियरेन्स गर्न समस्या भयो,’ उनले भने, ‘आज (शुक्रवार) मन्त्री ज्यूले निरीक्षण गर्नुभएको छ । हामीले एक वर्ष थप गर्नुप¥यो भनेका छौँ ।’ कुल दुई अर्ब ४५ करोड ९५ लाख ८० हजार नौ सय २० रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर काम भइरहेको उनले बताए । सबै नेपाल सरकारको स्वामित्व रहेको छ । हालसम्म २४ प्रतिशत काम सम्पन्न भएको छ, झा ले भने, काम चालु भएको एक वर्ष पूरा भयो । यसको सुपरभिजनकर्ता सहरी विकास मन्त्रालय हो । शुक्रवार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह श्रेष्ठले उक्त निर्माणाधीन अस्पतालको निरीक्षण गरेका छन् । उनले निरीक्षण गर्दै राम्ररी काम गर्न निर्देशन दिए । ‘काम राम्ररी र समयमै सक्नु । प्रभावकारी रूपमा निर्माणको काम हुनुपर्छ, जसले जनतालाई छिटै सेवा प्रवाहमासमेत कुनै कसर बाँकी नराखोस्,’ मन्त्री श्रेष्ठले भने । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था रहेको उक्त अस्पतालमा थप पाँच सय शय्या निर्माण भएसँगै बिरामीहरूले सहज रूपमा बेड प्राप्त गर्न सक्ने र उपचार गराउन सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार