मोरङमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

शनिबार, ०१ मंसिर २०८१
विराटनगर । मोरङमा टिपरले ठक्कर दिँदा शनिबार दिउँसो मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिपरले को २० प ६०७ नम्बरको मोटरसाइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर ठक्कर दिएको उनले बताए । दुर्घटनामा परेर मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको जानकारी डीएसपी दाहालले दिए । गम्भीर घाइते भएपछि उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएका उनीहरुको ३ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल क्षतिग्रस्त अवस्थामा रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पत्ता लागेको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार