विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत एक जना कैदीको आइतबार बिहानका राति मृत्यु भएको छ ।
जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको हो । कारागारका जेलर चेतराज बरालले दुवै खुट्टामा घाउ आएर पाकेपछि अमातलाई उपचारका लागि कात्तिक २१ गते साँझ अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।
उनका अनुसार अमातलाई मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी पुरानै समस्या थियो । उनको अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो । उपचाररत अवस्थामै बिहानका राति ३ बजेतिर मृत्यु भएको बरालले बताए । अमातको स्वास्थ्य अवस्था बिग्रिएर गएको जानकारी शनिबार साँझ अस्पतालले कारागारलाई दिएको थियो ।
अमातविरुद्ध भाडा लिएर बसेको घर खाली नगरेको र भाडा नतिरेको भन्दै घरधनीले मुद्दा हालेका थिए । ‘घर भाडा दिलाइ घर खाली गराइ पाउँ’भन्ने शीर्षकको मुद्दामा जिल्ला अदालत मोरङले उनलाई गत असोज १३ गते दोषी ठहर गर्दै २ वर्ष कैद सजायको फैसला गरेको हो । अमातले घरधनीलाई भाडाबापत ९ लाख रूपैयाँ तिर्न बाँकी रहेको थियो ।
जेलर बरालका अनुसार अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका उनको कोशी अस्पतालमै मृत्यु भएको हो । शवलाई परिवारका सदस्यले दाहसंस्कारका लागि लिएर गइसकेको उनले बताए ।
मोरङ कारागारमा अहिले ९९ महिला र ५ जना नाबालकसहित १ हजार ९६ जना कैदीबन्दी छन् । कारागारभित्र क्षमताभन्दा अत्यधिक धेरै राखिँदा कैदीबन्दीलाई समस्या हुने गरेको छ ।
खान, बस्न र सुत्नसमेत ठाउँको अभाव भइरहेको कारागारले जनाएको छ ।
प्रतिक्रिया