शान्ति जनकल्याण सहकारीको नाफा दुई करोड ३१ लाख

मंगलबार, ०४ मंसिर २०८१
इटहरी : इटहरी २० मा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०।८१ सम्ममा दुई करोड ३१ लाख बढी नाफा कमाएको छ । पछिल्लो समय सहकारी संस्थाहरूले बचतकर्ताको रकम अपचलन गरेका घटना बाहिरिरहँदा यस सहकारीले भने बचतकर्ताको मन जित्दै नाफा कमाएको हो । सहकारीको अडिट रिपोर्टअनुसार आर्थिक वर्ष २०८०।८१ मा उक्त सहकारीले दुई करोड ३१ लाख ५१ हजार ९४ रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७९।०८० मा भने सहकारीको नाफा एक करोड २६ लाख ८९ हजार २४२ रुपैयाँ थियो । तर, पछिल्लोपटक भने सहकारीले अघिल्लो वर्षभन्दा एक करोड बढी नाफा आर्जन गरेको हो । यसरी हेर्दा करिब ८० प्रतिशत हो । सहकारीका कार्यवाहक अध्यक्ष चिन्तामणि सापकोटाले संस्थागत सुशासन भएमा सहकारीलाई स्तरोन्नति गर्न सकिने बताए । ‘कर्मचारी व्यवस्थापन पक्षले लापरबाही गर्दा धेरैजसो सहकारी डुबेका छन्,’ उनले भने, ‘सहकारीको सिद्धान्तअनुसार चल्दा कुनै पनि सहकारी डुब्दैन । त्यसले बचतकर्ताको मन जित्दै सहरकारीलाई थप अब्बल बनाउँछ ।’ उनले पछिल्लो समयमा आर्थिक तरलता भएपनि नाफा वृद्धि भएको बताए । खासगरी पछिल्लो समय उक्त सहकारी प्रविधिमैत्री बन्दै गएको उनको दाबी छ । अब हुने साधारणसभामा यहाँका शेयर सदस्यलाई ८ प्रतिशत नाफा खुवाउने तयारीसमेत भइरहेको सापकोटा बताउँछन् । ०७९ पुस २९ गते सहकारीको निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा इटहरी २ शान्तिनगरका वीरबहादुर लिम्बू निर्वाचित भएका थिए । तर, उनको गत चैत २८ गते निधन भएपछि सहकारीका उपाध्यक्ष रहेका सापकोटाले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन् । ‘अब हामीले मोबाइल बैकिङमार्फत सेवा प्रवाह गर्ने तयारीसमेत सुरू गरेका छौँ,’ सापकोटाले भने, ‘हामी पछिल्लो समय प्रविधिमैत्री बन्दै गइरहेका छौँ, जसले बचतकर्ताको बचतको शुनिश्चितता पनि हुन्छ ।’ सहकारीका व्यवस्थापक मुकुन्द कुमार कार्कीका अनुसार शेयर पुँजी कुल ८ करोड २९ लाख ४० हजार पाँच सय रहेको छ । यसैगरी सहकारीले ३९ करोड २४ लाख ३१ हजार ६ सय ४० रुपैयाँ ऋण लगानी गरेको छ । यसैगरी जगेडा कोषमा तीन करोड ४४ लाख ५६ हजार दुई सय ३८ रुपैयाँ रहेको कार्कीले बताए । उनका अनुसार सहकारीले आफ्नै भवनमार्फत सेवा प्रवाह गर्दै आएको छ । २०४९ साल फागुन ९ गते चन्द्रप्रसाद रेग्मीको घरमा परिकल्पना भएको सहकारीमा हालसम्म दुई हजार ५३ जना शेयर सदस्य छन् । जसमध्ये दुई सय ५५ जनाले ऋण लिएका छन् । सुरुआती दिनमा ५० रुपैयाँका दरले दुई हजार तीन सय रुपैयाँ सेयर सङ्कलन गरी स्थापना भएको सहकारीको कार्यालय इटहरी २० तरहरामा रहेको छ । सहकारीले ०४९ सालबाटै आफ्नो गतिविधि गरेपनि २०५२ साल फागुन ८ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार