बूढीगंगामा छरपस्ट अवस्थामा भेटियो मानव कंकाल फेला

विहीबार, ०६ मंसिर २०८१
विराटनगर । मोरङको बूढीगंगामा छरपस्ट अवस्थामा मानव कंकाल भेटिएको छ । कंकाल भइसकेको टाउको, खुट्टा, हातलगायतका मानव अङ्ग बिहीबार बिहान १० बजेतिर फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार बूढीगंगा गाउँपालिका–५ स्थित साङ्ग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा कंकाल भेटिएको छ । उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा कंकाल भेटिएपछि धान काट्न गएकाहरूले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धानका लागि डिएसपी जोशी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पनि घटनास्थलतर्फ जाँदै छ । अहिले कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा। ज्वाला कँडेल र प्रहरीको टोलीले घटनास्थलमा पुगेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । डिएसपी जोशीले तत्काल नाम, थर, वतन तथा लिङ्ग नछुट्टिएको कंकाल फेला परेको जानकारी दिए । जङ्गली जनावर र कुकुरले खाएजस्तो देखिने मान्छेको टाउको, हात र खुट्टासहितको कंकाल खुट्टामा निलो ‘हाफ पाइन्ट’ लगाएको अवस्था फेला परेको उनको भनाइ छ । कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट कङ्काललाई परीक्षणका लागि कोशी अस्पताल लैजाने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कंकाल कसको र कति पुरानो हो भन्ने खुल्न बाँकी छ । परीक्षण र अनुसन्धानबाट पत्ता लगाइने जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार