इटहरी । इटहरी उपमहानगरपालिकाको नगर बस दिउँसोको समयमा उपमहानगर अघि थन्किन्छ । दिउँसोको समयमा तीन घण्टा बस उपमहानगर अघि थन्किँदै आएको हो ।
किन दिउँसोको समयमा थन्किन्छ भन्नेबारे आम मानिस भने अनभिज्ञ छन् । उपमहानगरले भने बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म बस सञ्चालन भएपनि त्यसपछि २ बजेसम्म भने नगर बस थन्किँदै आएको जनाएको छ ।
२ बजेपछि बेलुका ७ बजेसम्म नगर बसले सेवा दिने उपमहानगरले जनाएको छ ।
बिहान, बेलुकाको तुलनामा दिउँसो यात्रुहरूको चाप कम हुने र नगर बसका कर्मचारीको खाना खान र विद्युतीय बस चार्ज गर्नका निम्ति दिउँसो तीन घण्टा नगर बस नचलाएको इटहरी उपमहानगरपालिका सवारी दर्ता तथा मेशिनरी औजार शाखा प्रमुख गणेशप्रसाद भट्टराईले बताए ।
इटहरी ४ स्थित खानेपानी डिभिजन नजिकै नगर बसको चार्जिङ स्टेसन रहेको र सोही स्थानमा नगर बस राख्ने पार्किङसमेत बन्दै गरेको उनले बताए । ‘दुई घण्टा बस चार्ज गर्न र एक घण्टा खाना खानको निम्ति बस नचलाइएको हो,’ भट्टराईले भने, ‘दिउँसोको समयमा यात्रुको चाप पनि कम हुन्छ ।’
नगर बसको मुख्य उद्देश्य नगरबासीको सेवा रहेकाले इटहरी नगर भरी यात्रा गरेको मात्र २० रुपैयाँ भाडा रहेको प्रमुख भट्टराईको भनाइ छ ।
भट्टराईका अनुसार चार वटा विद्युतीय नगर बसले इटहरीको चार वटै क्षेत्रहरूलाई समेट्दै ग्रामीण भेगका सर्वसाधारणहरूलाई सेवा दिँदै आएको छ । चार वटा नगर बसमा चालक र सहचालक गरेर आठ जना कर्मचारी रहेका छन् । नगर बसको सेवाबाट सर्वसाधारणलाई सहज भएको भट्टराईको दाबी छ ।
गत असोज २ गतेदेखि इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको नगर बसले यहाँका विभिन्न क्षेत्रमा सेवा दिँदै आइरहेको छ । नगर बसले धरान–विराटनगर सडकमा तरहरादेखि खनारको अरिहन्त उद्योगको रुटमा सेवा दिँदै आएको छ ।
पूर्व–पश्चिम राजमार्गमा बूढी खोला (मिलन चोक)देखि लगुना चोक (बिजुली अफिस)सम्म र विराटनगर लाइनको साथी पेट्रोल पम्प हुँदै ११ नम्बर वडाको खेती पुल र नहरको बाटो हुँदै इटहरी चोकको रुटमा सेवा दिँदै आएको छ ।
यसैगरी इटहरी चोकबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै पुनः मुख्य चोकमा नगर बसले सेवा दिँदै आएको छ ।
उता, इटहरी चोकबाट तालतलैया हुँदै त्रिभुवन चोक, देवीस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै राजमार्गबाट मुख्य चोक र उपमहानगरपालिकाबाट पश्चिम लाइन लबीपुर हुँदै १५ नम्बर वडाको चाँद बेला सिमानाबाट १७ नम्बरको पार्टी कार्यालय र कान्छी चोकसम्म बसले सेवा दिँदै आएको छ ।
प्रतिक्रिया