उपचारका लागि पहाडबाट इटहरी आएका थिए, दुर्घटनामा अस्ताए गुरुङ दम्पती

आइतबार, ०९ मंसिर २०८१
इटहरी : दुई साताअघि सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ ओख्रेका युवराज गुरुङ र टीका गुरुङ उपचारका लागि इटहरी आए । उनीहरू श्रीमान–श्रीमती हुन् । श्रीमती टीकाको उपचारका लागि इटहरी आएका युवराज दुई सातादेखि नै इटहरी ४ मा बसोबास गर्दै आएका थिए । श्रीमतीको किड्नीमा समस्या भएपछि उपचार गराउँदै आफ्ना बुबाको कृषि पेसालाई पनि सहयोग गरिरहेका युवराज आइतबार सुनसरीको इनरुवा गएका थिए । उनीसँगै श्रीमती पनि गएकी थिइन् । युवराजका बुबा हर्कधन गुरुङ कृषि पेसा (साग, सब्जी व्यापार) गर्दै आएका छन् । उनै हर्कधनसँगै स–परिवारले सब्जी व्यापार गर्दै आएको र व्यापारकै पैसा लिन इनरुवा गएको खुलेको छ । कोशी प्रदेशसभाकी पूर्व सासंद पदमकुमारी गुरुङका अनुसार परिवारले सब्जी व्यापार गर्दै आएको थियो । हर्कधनका तीन भाइ छोरामध्ये माइला छोरा रहेका युवराजका दम्पती नै दुर्घटनामा अस्ताएपछि गाउँबासी नै शोकमग्न रहेको पदमकुमारीले बताइन् । ‘यस्तो दुःखद् घटना अचानक सुन्नुप¥यो,’ उनले भनिन्, ‘परिवारले नै सब्जी व्यापार गर्दै आएको थियो । खुशी र सुखी परिवार थियो, तर सधैँका लागि आजको दिन कहालीलाग्दो भयो ।’ युवराज दम्पती इटहरीमा सानीमाकहाँ बस्दै आएका थिए । विराटनगरस्थित नोबेल हस्पिटलमा उपचार गराएपछि टीकाको स्वास्थ्यमा सुधार आएको थियो । ‘आज इनरुवाबाट पैसा उठाएर आएपछि घर आउने कुरा रहेछ,’ पदमकुमारीले प्रदेश खबरसँग भनिन्, ‘तर त्यस्तो घटनापछि भने हामी विक्षिप्त भएका छौँ ।’ उनीसहित मृतकका बुबा हर्कधन, दाजु र भाइ अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका छन् । मृतकद्धयको शव अहिले बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ । ‘अब गाडीवालासँग बसेर भोलि छलफल हुन्छ,’ पदमकुमारी भन्छिन्, ‘त्यसपछि पोस्टमार्टम गरेर मात्रै शव सङ्खुवासभा लैजाने कुरा भएको छ ।’ मृतकद्धयका दुई छोराहरू १३ वर्षीय सोनाम र ११ वर्षीय सामेल छन् । सोनाम भारतको कालेबुङमा अध्ययन गर्दै आएका छन् भने सामेल भने स्थानीय एक विद्यालयमा अध्ययन गर्दै आएका छन् । मिलनसार स्वभावका युवराज र टीकाको दुर्घटनामा निधन भएपछि गाउँघर नै विह्वल अवस्थामा रहेको बताइएको छ । आइतबार दिउँसो १२ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकल इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको थियो । उक्त मोटरसाइकललाई सुरूमा को १ क ३३८८ टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दम्पती लडेका थिए । सोहीबेला गुडिरहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले किच्दा उनीहरूको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घटनामा संलग्न टिपर चालक मोरङको सुन्दरहरैँचा ३ गछियाका ३५ वर्षीय सागर मग्राती र म्याजिक भ्यान चालक इटहरी १२ खनारका ३९ वर्षीय श्याम बिकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले तीनवटै सवारी साधन पनि नियन्त्रणमा लिएको छ । यो पनि – इटहरी दुर्घटना अपडेट : टिपरको ठक्करबाट मोटरसाइकल लड्यो, त्यसपछि गुडिरहेको म्याजिकले किच्यो यो पनि – इटहरीमा मोटरसाइकल दुर्घटना अपडेट : श्रीमान-श्रीमतीको मृत्यु यो पनि – इटहरीमा मोटरसाइकल दुर्घटना, दुईको अवस्था गम्भीर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार