काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले कानुन बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने बताएका छन् । हिंसा न्यूनीकरणका लागि समाजमा समानताको भावना जागृत गर्न आवश्यक रहेको उनले बताएका हुन् ।
लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको आज (सोमबार) उद्घाटन गर्दै मन्त्री सुडीले सकारात्मक सोच र समानताको मनोभाव जागृत गर्नुपर्ने धारणा राखे ।
यो भावना निरन्तर अभियानबाटै सम्भव हुने उनको भनाइ छ । राष्ट्रिय महिला आयोगले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले अधिकार सम्पन्न महिला बनाउनु भनेको देशको विकास र समृद्धिको मार्ग खोल्नु रहेको उनले बताए ।
उनले भने, “महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकारदेखि जनतासम्मको सक्रिय सहभागिता हुनुपर्छ ।”
आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिकहिंसा विरुद्धको अभियानमार्फत समाजमा विभेद गर्न हुन्न भन्ने अप्रत्यक्ष जनचेतना फैलाउन मद्दत पुग्ने बताए ।
विगतभन्दा महिलामाथिका हिंसाको प्रकृति र स्वरुपमा परिवर्तन भएको बताउँदै उनले महिला आफन्तबाटै असुरक्षित रहेको जानकारी दिए ।
कार्यक्रममा योग गुरु रमेश नेपालले हिंसात्मक कुनै पनि गतिविधि गर्नु भनेको विकृत मानसिकताको परिणाम भएको बताउँदै ध्यान र योगाबाट यस्तो खराब आचरण निर्मुल गर्न सकिने सुझाव दिए ।
लैङ्गिकहिंसाको अवस्थाबारे अधिकारकर्मीसँग छलफल गरिएको थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया