‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन

सोमबार, १० मंसिर २०८१
खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा सोही नगरपालिका–७ हलेसीस्थित महादेवस्थान च्याम्पियन बनेको छ । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गकस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा आज साँझ सम्पन्न फाइनल खेलमा पद्म स्पोर्टस क्लब ओखलढुङ्गालाई ट्राइबेकरमा हराउँदै हलेसी महादेवस्थान च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि ट्राइबेकरमार्फत छिनोफानो गरिएको प्रतियोगितामा हलेसी महादेवस्थानले तीन गोल गर्दा ओखलढुङ्गाले दुई गोल मात्र गर्न सफल भएको थियो । च्याम्पियन बनेको हलेसी महादेवस्थानले नगद एक लाख ११ हजार एक सय ११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको ओखलढुङ्गाले नगद ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । सेमिफाइनलिष्ट भोजपुर नगरपालिका भोजपुर र जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ खोटाङले जनही नगद २२ हजार दुई सय २२ सहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए । प्रतियोगिता अवधिभरका बेष्ट प्लेयर (उत्कृष्ट खेलाडी) बनेकी हलेसी महादेवस्थानका खेलाडी प्रतीक्षा ठकुरीले नगद एक हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । बेष्ट डिफेण्डर हलेसीकै कर्सा ओली, बेष्ट मिडफिल्डर ओखलढुङ्गाकी खुस्मा राई, हाइ स्कोरर (सर्वाधिक गोलकर्ता) ओखलढुङ्गाकै सुप्रिया मियाँ, बेष्ट किपर (गोल रक्षक) हलेसीका सुजता तामाङ र बेष्ट कोच (उत्कृष्ट प्रशिक्षक) हलेसीका लोकेन्द्र केसी घोषित भएका छन् । विद्यागत पुरस्कार विजेता खेलाडीले जनही एक हजार एक सय ११ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टोली र खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले पुरस्कार वितरण गरे । खेलको माध्यमबाट महिलाको शक्ति प्रदर्शन गर्नका लागि नगरपालिकाको आयोजनामा पहिलोपटक सर्वाधिक राशिको खुला महिला फुटबल प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख राईले बताइन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गरेका थिए । ‘मेरो गोल, लैङ्गिक हिंसाविरुद्धको बोल’ नारासहित मङ्सिर–८ गतेदेखि सुरु प्रतियोगितामा खोटाङ, भोजपुर र ओखलढुङ्गा गरी १६ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा खोटाङकै प्रथम महिला रेफ्री शशी राई, रोदिना राई र युनिसा राईसहित अन्य दुई जना पुरुष रेफ्रीमार्फत खेल सम्पन्न गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । यसैबीच, महिला जनप्रतिनिधिका लागि आयोजित म्युजिकल चियर प्रतियोगितामा उर्मिला विश्वकर्मा प्रथम भएकी छन् । नगरपालिकाभित्रका १९ जना महिला जनप्रतिनिधि सहभागी प्रतियोगितामा दीक्षा राई द्वितीय र जुना राई तृतीय भएकी छन् । म्युजिकल चियर प्रतियोगितामा विजयी जनप्रतिनिधिलाई क्रमशः नगद तीन हजार तीन, दुई हजार दुई र एक हजार एकको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिता उद्घाटन तथा समापनमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार