दाङ । दाङमा निसास्सिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ५ देविस्थान बस्ने ४० वर्षीया पार्वती घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
एक कोठे जस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुँवाका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए । उनको घर गाउँ भन्दा झन्डै एक डेढ सय मिटर टाढा एकान्त ठाउँमा रहेको र उनी एक्लै बस्दै आएकी थिइन ।
उनका ३ वटा छोराहरू रहेपनि उनीहरु सबै मजदुरीका लागि काठमाडौंमा रहेको हुँदा उनीहरु आएपछि मात्रै शवको पोस्टमार्टम हुने प्रहरीले जानकारी दिएको छ । छोराहरूलाई खबर भइसकेको र छोराहरू आउन लागेको प्रहरीले बताएको छ । शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया