अन्तरजातीय विवाह गर्ने १९ जोडी सम्मानित

बुधबार, १२ मंसिर २०८१
गोरखा : गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने १९ जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्ण रूपमा अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबिच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । ‘कानुनले जातीय विभेदलाई पूर्ण रूपमा बर्जित गरेको भए पनि हाम्रो समाजमा अझै पनि दलित र गैरदलितबिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्,’ उनले भने, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबिच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’ पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबिच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबिच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए । ‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो,’ उनले भने, ‘यसबाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौँ ।’ दलित र गैरदलितबिच विवाह भएका दम्पतीको आर्थिक अवस्था हेरेर प्रोत्साहनका लागि पालिकाले सीपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए । ‘दीर्घकालीन रूपमा उनीहरूले लाभ लिन सक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ,’ उनले भने, ‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने  विश्वास लिइएको छ ।’

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार