काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले गुणस्तरीय र निःशुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन्।
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै महरले गुणस्तरीय र निःशुल्क शिक्षा आजको आवश्यकता भएको बताएका हुन् ।
‘नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने भएकाले जनताका लागि शिक्षा र स्वास्थ्यको सेवा प्रवाह राज्यले नै दिनुपर्छ भन्नेमा दृढ छ। राज्यले यसको दायित्व लिनुपर्छ। गुणस्तरीय र निःशुल्क शिक्षा नै हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने ।
कांग्रेस पार्टी निःशुल्क र गुणस्तरीय शिक्षाको नीति निर्माणमासमेत जुटेको उनले बताए ।
‘कांग्रेस उदारवादमा विश्वास गर्ने पार्टी हो। व्यक्तिको आफ्नो पनि क्षमता छ। उसले आफ्नो वृत्ति विकासमा छुट पाउनुपर्छ भन्ने कुरामा कांग्रेस प्रतिबद्ध छ। नेपालको संविधानले प्रतिबद्धता व्यक्त गर्दा गर्दै पनि हामीले निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्थापन सरकारका तर्फबाट मात्रै हुने देखेका छैनौं,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र त्यति बलियो छैन। यसको कार्यान्वयनमा निजी क्षेत्रका प्याब्सन जस्ता संघ–संस्थाले खेलेको भूमिका प्रशंसायोग्य छ।’
उनले निजी क्षेत्रका शैक्षिक संस्थाको लगानीको सुरक्षा प्रत्याभूत गर्ने जिम्मेवारी सरकारको भएको जिकिर गरे । व्यक्तिको लगानीको संरक्षण गरिनुपर्छ भन्नेमा कांग्रेस सधैँ प्रतिबद्ध र जिम्मेवार रहेको महरको भनाइ छ।
सरकारले लगानीको सुरक्षा गर्दा त्यस्ता शैक्षिक संस्थाका सञ्चालकले लगानी व्यक्तिको अनुकूलतामा मात्र प्रयोग नगरेर सोही संस्थाको विकासमा सदुपयोग गरेर थप गुणस्तरीय र सेवामुखी बनाउनेमा जिम्मेवार सबैको ध्यान केन्द्रित हुनुपर्ने उनले औंल्याए ।
पछिल्लो समय ठूलो संख्यामा मानिसहरू विदेश गइरहेको अवस्थामा कुनै दिन नेपालमा विद्यार्थी पाउने कि नपाउने भन्ने संकट निम्तिनसक्ने उनको चिन्ता थियो ।
‘यस्तो अवस्थामा शुल्क लिएर हामीले विद्यार्थी पढाउँछौं र नेपालको समग्र शिक्षाका बारेमा बोल्न सकेनौं भने यसको ठूलो असर पार्नेछ। पैसा तिर्न सक्ने विद्यार्थी सबै पलायन हुँदा निजी शैक्षिक संस्था बन्द गर्नुको विकल्प हुँदैन,’ उनले भने, ‘निःशुल्कका विभिन्न मोडल हुन सक्छन्। भौचर सिस्टमबाट पनि विद्यार्थीको खर्च राज्यले तिर्ने गरी हुनसक्छ। यस्तै अन्य कुनै विधि हुन सक्छन्। हुनेले तिर्ने ,नहुनेले निशुल्क पढने पद्दति पनि अवलम्बन गर्न सकिन्छ।’
गुणस्तरीय शिक्षा प्रदान गर्दा दक्ष जनशक्ति उत्पादन हुने भएकाले उसले देशलाई ठूलो योगदान पुर्याउन सक्नेमा आफू विश्वस्त रहेको उनले बताए।
प्रतिक्रिया