विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अहिलेसम्म १६ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
मतदाताले लाइनमा बसेर पालैपालो मतदान गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म ४ हजार २ सय ९ मत खसिसकेको हो ।
सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार २६ हजार ४४ मतदातामध्ये २ हजार ५ सय २ पुरुष र १ हजार ७ सय ७ जना महिलाले मतदान गरिसकेका छन् ।
मतदानस्थल र केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएकाले मतदानका क्रममा कुनै समस्या नरहेको जानकारी पौडेलले दिए ।
ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ । ग्रामथानको अध्यक्ष चयनका लागि उपनिर्वाचनअन्तर्गत मतदान चलिरहेको हो । ७ वटा वडा रहेको ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् ।
ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि अध्यक्ष चयनका लागि आज उपनिर्वाचन भइरहेको हो ।
प्रतिक्रिया