विराटनगर । मोरङको ग्रामथानमा आइतबार बिहान एक जना वृद्ध मृत फेला परेका छन् ।
ग्रामथान गाउँपालिका–६ भएका ६९ वर्षीय झल्लुराम माझी मृत फेला परेका हुन् । प्रहरीका अनुसार ग्रामथान–७ नेता चोकस्थित पेट्रोल पम्पअगाडि सडकको साइडमा रहेको सुख्खा नालीमा बिहान ८ः५० बजेतिर उनको शव फेला परेको थियो ।
स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदान जारी रहेको दिन नालीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएन । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।
ग्रामथानको अध्यक्ष चयनका लागि आइतबार मतदान भएको थियो ।
प्रतिक्रिया