प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाने

आइतबार, १६ मंसिर २०८१
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान जाँदैछन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी उनले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै उनले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेकी छन् । यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार