उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा

आइतबार, १६ मंसिर २०८१
काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । सभापति देउवाले आइतबार प्रेस विज्ञप्तिमार्फत देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा सबैले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिएकोमा धन्यवाद ज्ञापन गरेका हुन् । उनले आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गरे । यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको सभापति देउवाको भनाइ छ । उनले शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिए । यसका साथै मतदान कार्यमा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्ने सम्पूर्णलाई पार्टीका तर्फबाट सभापति देउवाले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार