पाँचथरमा निर्मित मुन्धुम पार्क, चट्टान बाटिका निर्माणको आयव्यय सार्वजनिक

मंगलबार, १८ मंसिर २०८१
पाँचथर : पाँचथरको फिदिम नगरपालिका १३ जेभाले हुक्माडाँडामा निर्मित मुन्धुम पार्क, वनभोज स्थल, चट्टान बाटिका निर्माणको आयव्यय सार्वजनिक गरिएको छ । गुप्तेश्वर महादेवस्थान, मुन्धुम पार्क, हुक्माडाँडा पर्यटन प्रवर्धन विकास संस्थाले संरचना निर्माणका क्रममा देश, विदेशमा रहेका व्यक्ति र संस्थाले गरेको खर्चको विवरण सार्वजनिक गरेको हो । यहाँ किराँत धर्मावलम्बीहरूको आस्थाका देवता सुम्निमा पारुहाङ, हिन्दुहरूका अराध्य देवता महादेव, नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्दसहित नेपालको राष्ट्रिय र किराँत राई यायोक्खाको झण्डाका आकृति ढुङ्गामा कुँदिएका छन्। नजिकै रहेको वनभोज स्थलमा आवश्यक पूर्वाधार र खेलमैदान व्यवस्थापन गरिएको छ । संरचना निर्माण गर्न देश, विदेशमा रहेका नेपाली नागरिकहरूबाट १५ लाख २ हजार ४ सय ३५ रुपैंया सहयोग प्राप्त भएको जानकारी दिइयो । नगद सहयोगमध्ये हालसम्म १२ लाख ८९ हजार ५ सय ५८ रुपैयाँ खर्च भएर २ लाख १२ हजार ८ सय ७२ रुपैंया बचत भएको अध्यक्ष गजेन्द्र राईले जानकारी दिए । उनकाअनुसार मुन्धुम पार्क निर्माणका लागि स्थानीय धनकुमार राई र सिता राईले २ रोपनी जग्गा उपलब्ध भएको राईले बताए । सार्वजनिक सुनुवाईसँगै संस्थाले मुन्धुम पार्क निर्माणका स्थलका जग्गा व्यवस्थापक र सहयोगीहरूलाई सम्मानसमेत गरेको छ । संस्थाले जेभालेस्थित हुक्मा डाँडामा सार्वजनिक सुनुवाई आयोजना गर्दै आयव्यय विवरण सार्वजनिक गरेको हो । कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, उपमेयर राधाकृष्ण नेउपाने, कांग्रेस नेता नरेन्द्रकुमार केरुङलगायतले जेभाले, महादेवथान र हुक्माडाँडा क्षेत्रमा विभिन्न संरचना निर्माण गर्न सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार