विराटनगर : विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
बुधबार विराटनगरस्थित लक्ष्मी सनराइज बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
महानगरपालिका मेयर नागेश कोइरालालाई भेटेर बैंकका प्रदेश प्रमुख बर्बरिक पोखरेल र विराटनगर शाखाका प्रमुख सुदीप नरसिंह रायमाझीले दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
हालसम्म २६ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।
लक्ष्मी सनराइजसहित १४ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २६ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् ।
हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिए ।
बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ ।
प्रतिक्रिया