विराटनगर : कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरूको खोजी गरी इतिहास प्रकाशन गरिने भएको छ ।
बिहीबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्यूनतम ५० जना अगुवाहरूको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ ।
कम्युनिष्ट पार्टी स्थापनापछि असहज अवस्थामा पार्टी निर्माण र समाज रूपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका गुमनाम योद्धाहरुको खोजी गरि दस्तावेज प्रकाशन गर्न लागिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।
कोशी प्रदेशका प्रत्येक जिल्लाबाट न्यूनतम तीन जना त्यस्ता ज्येष्ठ अगुवाहरूको इतिहासको दस्तावेजीकरण गरि न्यूनतम ५० जना अग्रजहरूका इतिहास समेटिने गरी प्रचार विभागका उपप्रमुख भीमज्वाला राईको नेतृत्वमा टिम निर्माण गरिएको हो ।
उक्त टिममा सदस्यहरू मोहनकाजी न्यौपाने, देवेन्द्र कार्की, सुमन पुरी, अविजाल विष्ट र हरीबोल आचार्य रहेका छन् ।
प्रतिक्रिया