विराटनगर । पहिचान पक्षधरले झापामा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा अवरोध गर्ने तयारी गरेका छन् ।
कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलन गर्दै आएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीलाई लक्षित गरेर कार्यक्रममा अवरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओली आइतबार र सोमबार झापाका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
कार्यक्रममा विभागीय मन्त्री, प्रदेशसभा सदस्य र एमाले नेतालगायत सहभागी हुने बताइएको छ । ओलीले आइतबार झापाको मेचीनगरमा मावनसेवा आश्रम भवनको शीलान्यास र दमक नगरपालिका–३ मा नवनिर्मित विजनेश टावरको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यस्तै, सोमबार दमक–३ मै बेलडाँगी खानेपानीको उद्घाटन, गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गा धनीपुर्जा वितरण, गौरादह बजारमै ताजपुरिया समाजको भेला तथा बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक प्रेम येक्तेनको अध्यक्षता तथा घटक संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा मंसिर २० गते बिहीबार बसेको संघर्ष समितिको भर्चुअल बैठकले प्रधानमन्त्री सहभागी कार्यक्रममा सशक्त रूपले अवरोध एवं प्रतिरोध गर्ने निर्णय गरेको हो । साथै, बैठकले विराटनगरमा शनिबार हुने नेपाली कांग्रेसको प्रथम कोशी प्रदेश सम्मेलनमा पनि अवरोध गर्ने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले पाँचथरको रवि बजारमा आइतबार सरकारको काम कारबाहीप्रति खबरदारी सभा गर्दै छ । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले खबरदारी सभाको तयारी पूरा भएको जानकारी दिए ।
संघर्ष समितिमा पहिचानवादी मोर्चा, किराँत, याक्थुम चुम्लुङ, पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामांकन अभियान समिति, जसपा नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनमुक्ति पार्टीलगायत छन् । समितिले कोशी नामको प्रयोग र कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश सांसद उपस्थित हुने कार्यक्रममा प्रतिरोध गर्ने निर्णय गरेको छ ।
साथै, समितिले कांग्रेस, एमाले र माओवादीलाई कोशी नाम प्रयोग नगर्न र कोशी नामका पक्षमा हस्ताक्षर गर्ने सांसदलाई कार्यक्रमहरुमा सहभागी नगराउन चेतावनीसमेत दिएको छ । समितिको बैठकले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा प्रतिरोधका लागि जनशक्ति पठाउन संघर्ष समितिका घटक दल र संस्थाहरुले सक्दो पहल गर्ने निर्णय समेत गरेको समितिका संयोजक येक्तेनले बताए ।
समितिले पहिचान विरोधी भन्दै कोशी नामको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस, एमाले र माओवादीका ८२ जना प्रदेशसभा सदस्यलाई कार्यक्रमहरुमा सहभागी नगराउन आह्वान गर्दै आएको छ । २०७९ साल फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखिएको थियो ।
प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतबाट नाम ‘कोशी’ राखिएको हो । प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै ‘कोशी’ नाम खारेजी र पुनः नामकरण हुनुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।
समितिले कोशी प्रदेशको नाम खारेजीको माग गर्दै मंसिर ३ गते पत्रकार सम्मेलन गरेर औपचारिक हिसाबले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मंसिर २ गते विराटनगरमा प्रदर्शनसमेत गरियो ।
समितिले प्रदेशको नामकरण भएको दिन फागुन १७ गतेलाई कालो दिवसका रूपमा मनाउने र चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी तथा पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी दिएको छ । आन्दोलनका कार्यक्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने उल्लेख छ ।
पहिचान पक्षधरको घोषित कार्यक्रमलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए । पहिचान पक्षधरको कार्यक्रमलाई मध्यनजर गरी विशेष रणनीति बनाउँदै त्यही हिसाबको सुरक्षा तयारी गरिएको जानकारी उनले दिए ।
प्रतिक्रिया