धरान : अन्तर विद्यालय ५ के रन दौड प्रतियोगितामा छात्रातर्फ सिंगेश्वरी माध्यमिक विद्यालय भोजपुरकी जुही राई र छात्रतर्फ सोही विद्यालयको ईश्वर राई प्रथम भएका छन् ।
शनिबार लियो क्लब अफ विजयपुर धरानले आयोजना गरेको तेस्रो संस्करणको रनमा कक्षा ७ देखि १० सम्मका छात्रतर्फ ईश्वर प्रथम भएका हुन् । उनले १४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरेका थिए । यसैगरी छात्रातर्फ प्रथम भएकी जुहीले १८ मिनेट ११ सेकेण्डमा दौड पूरा गरिन् ।
यसैगरी ज्वालामुखी विद्यालयका सुवासकुमार बिकले १४ मिनेट ५० सेकेण्डमा दौड पूरा गरी द्धितीय भए । धरान आदर्श विद्यालयका विनोद राई १५ मिनेट ३२ सेकेण्डमा दौड पूरा तृतीय भए ।
यसैगरी छात्रातर्फ सिंगेश्वरी माध्यमिक विद्यालय भोजपुरकै विनिता राईले १९ मिनेट ११ सेकेण्डमा दौड पूरा गर्दै द्धितीय भए भने डिपोट स्कुलका दृष्टी राईले २० मिनेट ८ सेकेण्डमा दौड पूरा गर्दै तृतीय भइन् ।
यसैगरी कक्षा ११ देखि १२ का छात्रतर्फ हिमालयल मावि दमकका ओशन राईले १३ मिनेट ३८ सेकेण्डमा दौड पूरा गर्दै विजेता बने । यस्तै, छात्रातर्फ सरस्वती मावि इलामकी पुष्पा शेर्मा लिम्बूले १६ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी विजयी बनिन् ।
त्यस्तै, छात्रतर्फ निकेतन विद्यालय धरानका पुकार लिम्बूले १३ मिनेट ५४ सेकेण्डमा दौड पूरा गर्दै द्धितीय भए भने मेघा स्कुल धरानका कालुमान राईले १३ मिनेट ५७ सेकेण्डमा दौड पूरा गर्दै तृतीय भए ।
यसैगरी छात्रातर्फ पब्लिक हाई स्कुलकी दीक्षा राईले २० मिनेट ८ सेकेण्डमा दौड पूरा गर्दै तृतीय भइन् भने आदर्श माविका रिना खाङले २३ मिनेट ३२ सेकेण्डमा दौड पुरा गर्दै तृतीय भइन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाहरूलाई क्रमशः नौ हजार, सात हजार र पाँच हजार रुपैयाँसहित, मेडल र प्रमाणपत्र प्रदान गरियो । उनीहरूलाई धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले पुरस्कृत गरे ।
भानु चौकबाट सुरू भएको दौड पुतलीलाइन हुँदै कल्याण चौक, पानीटंकी, चतरा लाइन, छाता चोक, सिंहदेवी, पुरानो बजारबाट देशीलाईन हुँदै पुनः भानु चौक नै आएर समापन भएको थियो ।
आयोजक क्लबका अध्यक्ष प्रदोश अधिकारीका अनुसार अन्तर स्कुल ५ के रन सन २०२२ देखि सुरु भएको हो ।
प्रतिक्रिया