गोरखा : गोरखाको बारपाकमा बलात्कारको प्रतिवाद गर्दा हत्या गरेको रहस्य खुलेको छ । जिल्लाको सुलिकोट गाउँपालिका–१ बारपाकस्थित १८ वर्षीया सुचिना घलेको हत्या आरोपीलाई प्रहरीले १० दिनपछि मंगलबार सार्वजनिक गरेको हो ।
हत्याको आरोपमा बारपाक सुलिकोट–१ का ४३ वर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
मंसिर १५ गते घाँस काट्न गएकी घलेको शव बारपाकस्थित मैखर्क जंगलमा खाल्डो पुरिएको अवस्थामा मंसिर १८ गते भेटिएको थियो ।
जंगलमा घाँस काट्न गएकी घलेलाई गुरुङले बलात्कार प्रयास गरेको र युवतीले प्रतिकार गरेपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदी कमाण्डको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा खटिएको थियो ।
हत्या आरोपमा पक्राउ परेका सम्जेरसँग प्रहरीले सुरूमा सोधपुछ गरेको थियो । उनको हातमा चोटपटक भएपनि उनले प्रहरीलाई ढाँटेका थिए । निगरानीमै राखेर सम्जेरलाई तारेखमा छाडियो । तर, मंसिर २४ गते पुनः उनीसँग सोधपुछ भयो । त्यतिबेला आफूले हत्या गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीमा दिएको बयान अनुसार सम्जेर मंसिर १५ गते घाँस काट्न सोही जंगलतर्फ गएका थिए । सो क्रममा सूचिनालाई बलात्कारको प्रयास गरेको र सूचिनाले प्रतिकार गर्न थालेपछि सम्जेरले मुखमा घाँस, गोबर र माटो कोचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
‘घाँस काट्न जंगल जाँदा आरोपित गुरुङ र सुचिना अघिपछि हुँदै गएको, युवती एक्लै भेटेपछि आरोपितले शारीरिक सम्पर्कको प्रस्ताव र अनुरोध गर्छन्,’ एसपी पाठकले भने,‘युवतीले इन्कार गरेपछि उनले जबरजस्ती करणीको प्रयास गरेको र युवतीले प्रतिकार गरेको अनुसन्धानबाट खुलेको छ ।’
गुरुङले आफूले लगेको डोको र नाम्लो, उनीको टोपी सोही स्थानमा छाडेका थिए । डोको, नाम्लो र टोपीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
प्रहरीले सोधपुछका क्रममा घटनाबारे आरोपितले ‘नोट’ समेत लेखेर दराजमा राखेको पनि खुलेको छ ।
आरोपितको घर खानतलासीका क्रममा दराजमा ‘मेरो बयान’ भनेर ‘म बाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्नेसमेत ब्यहोरा लेखेर औंठाछापसमेत लगाएको एक पाना फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
‘घटना भइकेपछि आरोपितले दुई पटकसम्म आत्महत्याको प्रयाससमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने । गुरुङविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया