काठमाडौँ : चलचित्र विकास बोर्डले सुरुआत गरेको पटकथा सङ्ग्रहालयमा चलचित्रमार्फत उत्साहक रूपमा पटकथाहरू प्राप्त भइरहेको जनाएको छ ।
बोर्डका अध्यक्ष दिनेश डिसीले ‘कबड्डी ४’, ‘बोक्सीको घर’, ‘छक्कापञ्जा ५’, ‘अन्तराल’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’ र ‘नाङ्गो गाउँ’ लगायतका ७२ चलचित्रको पटकथा प्राप्त भएको जानकारी दिए ।
“नेपाली फिल्मको पटकथालाई अभिलेखको रुपमा राख्ने तयारीअनुसार हामीले सङ्कलन गरिरहेका छौँ । केही समयपछि यहाँ आएर सर्वाधिक सफल भएका वा राम्रो हुँदाहुँदै पनि दर्शकको साथ नपाएका चलचित्रको पटकथालाई नव चलचित्रकर्मीले पढ्न पाउनुहुनेछ । यो उहाँहरूको लागि प्रारम्भिक ज्ञानको रुपमा उपयोगी हुनेछ”, अध्यक्ष डिसीले भने ।
उनले पटकथा सङ्ग्रहालयले नयाँ पुस्तालाई घरेलु चलचित्रको इतिहास बुझ्न सजिलो बनाउने विश्वास व्यक्त गरे ।
“हामीले अहिले बोर्डलाई लयमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छौँ । यहाँको बेथिति र ढिलासुस्तीलाई हटाउँदै काम गरिरहेकाले नेपाली चलचित्रकर्मीलाई लाभ दिनेछ । नयाँ चलचित्र ऐन, रियल टाइमबक्स अफिसमा डाटा प्राप्त हुनेलगायतका काम यही वर्षको अन्त्यसम्म गर्ने हाम्रो उद्देश्य छ”, डिसीले भने ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया