गलेश्वर । चैत–वैशाखमा लालीगुराँस फुलेर वनजंगल राताम्मे देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ।
जलवायु परिवर्तनका कारण माटोमा अम्लीयपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् । तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आएको पुष्पराज अधिकारीले बताए। उनका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो ।
तीन–चार वर्ष अघिसम्म जिल्लाका बावियाचौर, अर्मन, बगरफाँट, ज्यामरूककोट, शिख, हिस्तान, भकिम्ली, गौश्वारा, मराङलगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन ।
‘यो समय लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन’, मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताए।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लीयपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय पछि धकेलिँदै गएको हुनसक्ने कृषि प्राविधिक जगत् बानियाँले बताए। रासस
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया