दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

शुक्रबार, ०५ पुस २०८१
हुम्ला : जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध भएसँगै पालिकाको केन्द्रसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको हो । सर्केगाड–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आउनुभएका गेटबहादुर थापाले बताए । उनले भने, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्तसँग कुरा गर्न पाएको छैन । सर्केगाडसहित आसपासका सेवाग्राही पनि प्रभावित बनेका छन् ।” टावरले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेका स्थानीय छवि थापाले बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा सर्केगाड–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही सञ्चार सम्पर्कबाट बञ्चित भएका उनले जानकारी दिए । अवरुद्ध भएको टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ । सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा रहेका भन्दै फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या भएको थापाले उल्लेख गरे ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार