बराहक्षेत्र : बराहक्षेत्र नगर अस्पतालको सेवा र प्रशासन व्यवस्थापनको रूप फेरिँदै गएको छ । कुनै समय जर्जर अवस्थामा रहेका अस्पतालमा हाल विभिन्न सेवाहरू थपिएका छन् ।
२०७६ जेठ १३ गते स्थापना भएको नगर अस्पताल २०७९ सालको जेठसम्म आइपुग्दा लेखा परीक्षणको रिपोर्टका आधारमा करिब ५० लाख आर्थिक दायित्व र सेवाहरू समेत ठप्प हुने स्थितिमा पुगेको थियो ।
नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको अस्पताल व्यवस्थापनमा भएको लापरबाहीका कारण सेवाग्राहीहरूले सास्ती खेप्न बाध्य थिए ।
सेवाग्राहीहरूको चाप भएपनि व्यवस्थापनको कमजोरीका कारण जनशक्ति र सेवाहरू विस्तार गर्न नसक्दा समस्या हुँदै आएको थियो ।
तर, नगर प्रमुख रमेश कार्कीले अस्पतालको व्यवस्थापन पक्षलाई प्राथमिकताका साथ राखेर काम गर्न थालेपछि अहिले अस्पतालको स्वरूप नै परिवर्तन भएको दाबी गरिएको छ । नगर अस्पतालको विधान अनुसार व्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख रहने व्यवस्था छ ।
हाल अस्पतालमा दैनिक तीन सयसम्म सेवाग्राहीहरू आउने गरेका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उपलब्ध हुँदै आएको ओपिडी सेवालाई प्रभावकारी बनाउन बिहान ७ बजेदेखि बेलुकाको ७ बजे सार्वजनिक बिदाको दिनमासमेत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर प्रमुख कार्कीले बताए ।
हाल अस्पतालले हरेक दिन ओपिडी र आकस्मिक सेवा प्रदान गर्दै आएको छ । २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स रे, फिजोयोथेरापी सेवा, हप्तामा दुई दिन आइतबार र बुधवार आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालकै आम्दानीबाट आधुनिक इमेरजेन्सी, फार्मेसी भवन निर्माण भएको र एमडिजिपिसहित विशेषज्ञ डाक्टर, डेन्टल लगाएका अन्य सेवा थप गर्ने योजना रहेको कार्कीले बताए । नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरेको र सम्पूर्ण नगरवासीलाई स्वास्थ्यको पहुँचसम्म पुर्याउन काम गरिरहेको उनको भनाइ छ ।
खासगरी चक्रघट्टी, चतरा र मधुवनका अस्पतालमा सेवा विस्तारदेखि सूर्यकुण्डमा स्वास्थ्यकर्मी उपलब्ध र भवनको निर्माणको काम, सप्तकोसीपारी स्वास्थ्यकर्मी र भवनको काम भइरहेको र सम्पूर्ण वडाहरूमा स्वास्थ्य संस्थाको स्तरवृद्बि र जनशक्ति व्यवस्थापनमा काम भइरहेको उनले बताए ।
भौतिक संरचना निर्माण र जनशक्ति थप्दै
जर्जर अवस्थामा रहेको बराहक्षेत्र नगर अस्पतालको रूप फेरिँदै गएसँगै भौतिक संरचना निर्माण र जनशक्ति बढाउन थालेको छ । अस्पतालको प्रशासन र व्यवस्थापन सबलपछि भौतिक संरचना (भवन) र जनशक्ति (चिकित्सक, स्वास्थ्यकर्मी) सङ्ख्या बढाउन थालेको हो ।
करिब १० महिना अगाडिसम्म जर्जर अवस्थामा रहेका अस्पतालले विभिन्न सेवाहरू बढाउने लक्ष्यसहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टले बताए ।
उनकाअनुसार अस्पतालकै आम्दानीबाट फार्मेसी भवन निर्माण भएको छ भने अस्पतालले मेडिकल अधिकृत, अनमी, ल्याव टेक्निसियन, फिजियो थेरापी सहायक, ल्याव असिस्टेन, फार्मेसी सहायक लगायतका कर्मचारीको माग गरेको छ ।
सबै कर्मचारीलाई अस्पतालकै आम्दानीबाट सेवा सुविधा उपलब्ध गराउन सकिने भएकाले जनशक्तिको माग गरिएको बताइएको छ ।
प्रतिक्रिया