आचारसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

विहीबार, ११ पुस २०८१
काठमाडौँ : प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप दुई सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको उल्लेख गर्दै कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको दुई अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेवसाइटमार्फत सार्वजनिक गरेको छ । दियोपोष्टले हुँदै नभएको विषय लेखेर व्यक्तिको चरित्र हत्या गरेको, समाचारका नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिङ गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला चार महिना यता आठ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटकपटक आचारसंहिता अनुकुल काम गर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारवाही गर्ने निर्णय भएको थियो । साथै हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो । दसैँ यता मात्र काउन्सिलले यी दुईसहित विभिन्न नौ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएकोे ठहर गर्दै कालोसूचीमा राखेको हो । आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि तीमध्ये एक सञ्चारमाध्यमको कारबाही फुकुवासमेत भएको काउन्सिलले जनाएको छ । आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजिरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ । केही अनलाइन र युट्युव च्यानलले गरेका गलत काम र वेथिति रोक्न अभिमुखिकरण गराउनेदेखि आचारसंहिताको प्रावधान अनुसार कारबाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजिरका आधारमा काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्तिमार्फत पटकपटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार