सिरहा : नेपाल प्रिमियर लिग एनपीएल विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ ।
जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो ।
सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको ¥यालीमा हजारौँ समर्थक सहभागी थिए ।
खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो ।
कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहेका मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो ।
त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए । उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो ।
आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो ।
एनपीएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महासेठले बताए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया