इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु राख्ने को हो ? के गर्दैछ प्रहरी ?

विहीबार, १८ पुस २०८१
इटहरी : मंगलबार बिहान इटहरीमा बम राखेको भनेर चौतर्फी हल्ला भयो । जसले प्रहरी प्रशासनलाई मात्रै होइन, आम सर्वसाधारणलाईसमेत तनाव भयो । पछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा कुकर रहेको र बम बनाउन प्रयोग हुने केही सामानहरू रहेको पुष्टि भयो । कुकरभित्र राष्ट्रिय सुरक्षा दल नामक पर्चा भेटियो । पर्चामा संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, वैदिक सनातन हिन्दु राष्ट्र, सङ्घीयता खारेजी, बलियो स्थानीय तहलगायतका माग गरिएको छ । उक्त शंकास्पद वस्तु कसले राखेको भन्नेबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । सिसी टिभी फुटेज हेरेर प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । जसका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले  अनुसन्धान गरिरहेको छ । सिसी टिभी फुटेजअनुसार मंगलबार बिहान ४ः३० बजेतिर इटहरी उपमहानगरपालिकाको गेटअघि शंकास्पद वस्तु राखेको देखिन्छ । ‘मास्क लगाएको देखिन्छ । जसकारण पहिचान गर्न गाह्रो छ,’ एक प्रहरी भन्छन्, ‘अहिले नेपाल प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।’ उनका अनुसार कुकरभित्र भेटिएको राष्ट्रिय सुरक्षा दल कहीँ पनि दर्ता छैन । ‘उक्त पर्चा भने ती व्यक्ति आफैँले कुनै छापाखानाबाट छापेर ल्याएको देखिन्छ,’ ती प्रहरीले भने, ‘पर्चामा उल्लेख भएको दल कहीँ पनि दर्ता नहुनुले पनि यो काम आतंक फैलाउनका लागि मात्रै गरेकोजस्तो देखिन्छ ।’ खासगरी अहिले यो विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले अहिले संयुक्त रूपमा अनुसन्धान गरिरहेको जानकारी दिए । ‘अहिले टेक्निकल पाटोबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी भण्डारीले भने, ‘यही व्यक्ति संलग्न हो भन्ने यकिन भइसकेको छैन, अनुसन्धानकै क्रममा छौँ ।’ उनले घटनामा संलग्नबारे सुक्ष्म किसिमबाट अनुसन्धान भइरहेको बताए । खासगरी प्रहरीले व्यक्तिको पहिचान गर्ने क्रममै रहेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय पकलीमा एनसिएलको सिमबाट बम राखेको भनेर एकैसाथ एकै प्रकृतिको म्यासेज आएको थियो । उक्त म्यासेजपछि मंगलबार बिहानैदेखि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । बिहान ४ः३६ बजे इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको आधिकारिक मोबाइल नम्बरमा एक नम्बरबाट एकै किसिमका म्यासेज आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । ‘उक्त एनसिएलको सिमबाट सीमित व्यक्तिलाई मात्रै फोन गरेको पाइयो,’ एक प्रहरीले भने, ‘यो सबै किसिमलाई नजिकबाट नियालेर अनुसन्धान भइरहेको छ ।’ प्रहरी घटनाको नजिक पुगिसकेकाले केही दिनमै संलग्नको पहिचान हुने बताइएको छ । यो पनि - इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय, बूढीखोलामा भेटियो बोराभित्र फोहोर यो पनि – इटहरीमा बम भनिएको वस्तु कुकर रहेको पुष्टि, राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा फेला यो पनि – …अब आन्दोलन सुरू भयो भनेर बम राखेको म्यासेज प्रहरीलाई आएको थियो यो पनि – इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो यो पनि – इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार