‘सौर्य ऊर्जामार्फत विकासका लक्ष्य पूरा गर्नुपर्छ’

शुक्रबार, १९ पुस २०८१
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सौर्य ऊर्जामार्फत सरकारले राखेको विकासको लक्ष्य पूरा गर्नुपर्ने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २४औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको आज शुभारम्भ गर्दै उनले जलविद्युत्का साथसाथै सौर्य ऊर्जामार्फत सरकारले राखेको विकासको लक्ष्य पूरा गर्नुपर्ने बताए । “सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ तयार गरेको छ, यसलाई पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको छ”, उनले भने । मन्त्री खड्काले जनताले उज्यालो हेर्ने चाहनालाई पूरा गर्न सौर्य ऊर्जा व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताए । सौर्य क्षेत्रको विकासका लागि हामीसँग भएको खेतीयोग्य जमिन जथाभावी रूपमा मास्न नहुने मन्त्री खड्काको भनाइ थियो । “सरकारले प्रसारण लाइनमुनि रहेका जग्गा, खेती नहुने डाँडा, नहरको माथिको भाग र व्यक्तिका घरको छानो, जलाशययुक्त आयोजनाका लागि लिइएका जग्गामाथि सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ”, ऊर्जामन्त्री खड्काले भने । सरकारले विद्युत्को आन्तरिक खपत बढाउनेगरी कार्ययोजना बनाएको उनको भनाइ छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले निजी क्षेत्रको सहयोगमा सरकारले नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्दै देशका विकट र दुर्गम क्षेत्रका बासिन्दालाई स्वच्छ ऊर्जा उपलब्ध गराउन सफल रहेको बताए । उनले जलवायु परिवर्तनको बढ्दो समस्यालाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सरकारले नवीकरणीय ऊर्जालाई विशेष महत्व दिइरहेको उल्लेख गरे । सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले हरित ऊर्जा उत्पादनमा सौर्य ऊर्जा उत्पादक स्घले विगत दुई दशकदेखि भूमिका खेल्दै आएको बताए । उनले सौर्य ऊर्जाको सम्भावना नेपालमा प्रचुर मात्रामा रहेकाले सरकारले विशेष नीति बनाएर यस क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा राखे । सङ्घका महासचिव दीपक गौतमले सौर्य विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने ठूला आयोजना, घर कौसीमा राखिएका सौर्य विद्युत् प्रणालीबाट उत्पादित बिजुली नेटमिटरिङ गर्दै मिश्रित ऊर्जाको अवधारणा अघि बढाइएको भए पनि कार्यान्वयन सुस्त रहेको बताए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार