झापा महिला गोल्डकपमा आज आर्मी र पोखरा खेल्दै

विहीबार, २० कार्तिक २०८२

बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् । पोखरा महिला लिग छनोट प्रतियोगिताबाट महिला लिगमा छनोट भएको टोली हो ।

यस खेलको विजेता टोलीले सेमिफाइनलमा बलियो टिम विभागीयको एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एपिएफले भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब लाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अर्कोतर्फ फाइनल प्रवेशका लागि संकटा फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाले झापा एफसीलाई र पुलिसले चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।
दर्शकका लागि क्वार्टर फाइनलसम्म टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार