काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनै पनि तलमाथि नहुने बताएका छन् ।
शुक्रवार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानुनहरू संशोधनमा ल्याउने भनेर कानुनविद्हरू रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए ।
उनले भने, ‘काम गर्न बाधा पुर्याइरहेको ११ वटा कानुनहरूको पहिचान गरी संसद्मा पेस गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीको लागि पनि कानुनविद्हरू रहेको कार्यदल बनाएका छौ । त्यस कारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो । किनभने हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो । यसमा तलमाथि गर्ने कुनै पनि कुरा छैन ।’
यसको साथै, उनले नीतिगत रूपले संविधान संशोधनको विपक्षमा नभएको भन्दै त्यसको लागि कार्यदल बनाएर अगाडि बढेको बताए ।
उनले भने, ‘नीतिगत रूपले हामी संविधान संशोधनको विपक्षमा होइन । अस्ति भर्खर दुई दलको आठ सदस्य उच्च राजनीतिक संयन्त्रले पनि निर्देशन दिएको छ । संविधान संशोधन गर्न, सङ्घीयता र संविधान कार्यान्वयनको समस्या पहिलाउन, संसद्मा अहिलेसम्म भइरहेको १९ वटा विधेयकहरू जुन बाँकी छन् त्यसलाई यही अधिवेशनबाट पारित गर्नको लागि के के गर्नु पर्छ भनेर कार्यदलहरू गठन भएको छ ।’
२३ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा ‘संसद्को अहिलेको कार्यकालमा दुई तिहाइ पुगेन भने ०८७ मा संविधान संशोधन हुन्छ,’भन्ने अभिव्यक्ति दिए ।उक्त अभिव्यक्ति पछि विभिन्न टिका टिप्पणी सुरु भएको छ।सोही विषयलाई लिएर मन्त्री गुरुङले स्पष्टीकरण दिन खोजेका हुन् ।
प्रतिक्रिया