विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले संघीय सरकारको प्रतिनिधिका हिसाबले आफू सन्तुलित भूमिकामा रहने बताएका छन् ।
विराटनगरमा आइतबार पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै उनले सबै पक्षसँग सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रजिअ यादव पुस २४ गते मोरङ हाजिर भएका हुन् । ‘प्रजिअको भूमिका सन्तुलित हुनुपर्छ । म त्यसरी नै अघि बढ्छु,’ उनले भने, ‘संघीय सरकारको प्रतिनिधिका हिसाबले कानुनको दायराभन्दा बाहिर गएर काम गर्दिन । सबै पक्षको सल्लाह र सुझाव लिएर काम गर्छु ।’
मोरङ भारतसँग सीमा जोडिएको र जनघनत्व धेरै भएको जिल्ला भएकाले सबै खालका चुनौतीको विश्लेषण गरेर अघि बढ्ने प्रजिअ यादवले बताए । ‘मोरङमा राजनीतिक गतिविधि बढी हुन्छ । सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण छ । त्यही भएकाले सबै पक्षलाई मिलाएर लैजानुपर्ने हुन्छ,’ उनले भने ।
जिल्लाका चुनौतीको विश्लेषण एवं पहिचान गर्दै सबै पक्षसँग समन्वय गरेर काम गर्न आफूले चाहेको उनले बताए । बढ्दो सुरक्षा चुनौतीको विश्लेषण गरेर त्यही हिसाबले सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ । सीमादेखि विभिन्न खालका अपराध नियन्त्रण, विकास निर्माणमा आवश्यक समन्वय, सरकारी कार्यालयबाट चुस्त दुरुस्त सेवा प्रवाह तथा सबै पक्षलाई सहजीकरण गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको यादव बताउँछन् ।
उनले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता पनि जनाए । यादवले प्रत्येक महिना आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गर्ने जानकारी पनि दिए । यादव यसअघि चितवनको प्रजिअ थिए । त्यसअघि सुनसरी, इलामलगायत विभिन्न जिल्लामा प्रजिअको भूमिका निर्वाह गरिसकेका छन् ।
‘मोरङ रणनीतिक जिल्ला हो । सबै हिसाबले चुनौतीपूर्ण मानिन्छ । तर, राज्यको ‘सिस्टम’को ‘डेलिभरी’ राम्रोसँग गर्छु । कानुनको दायराभन्दा बाहिर जान्न । सेवा प्रवाहको मासिक प्रगति विवरण सार्वजनिक गर्छु । सम्भव भएसम्म ‘डेडिकेटेड’ तरिकाले काम गर्न चाहन्छु । सबैसँग सन्तुलित भूमिका निर्वाह गर्ने मेरो चाहना छ,’ प्रजिअ यादव भन्छन् ।
प्रतिक्रिया