इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाएको पत्रकार महासंघले निष्कर्ष निकालेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दे नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले मेयर राईका कारण सामाजिक दुरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको जनाएका छन् ।
धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै महासंघले मेयर राईले अधिकार दुरुपयोग गरी आफूलाई कानुन भन्दामाथि राख्न खोजेको ठहर गरेको छ ।
महासंघले केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै धरानका मेयरबाट सामाजिक द्वन्द्व बढाउने गतिविधि भइरहेको ठहर गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रुपमा दुरी र द्वन्द्व बढाउने खालका छन्।’
प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जत गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका हर्कत गरिरहेको महासंघको ठहर छ ।
मेयर राईले सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेर समर्थकहरूलाई पनि हौसाएको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षमा लेखाउने र भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ। व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ । अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ,’ महासंघका महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अझ पत्रकारहरूको परिवार पनि मानसिक तनाव र धम्कीको सामना गर्न बाध्य भएको पाइयो । यसबाट संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको देखिन्छ ।’
प्रतिक्रिया