इलाम । इलाममा माघ ५ गतेदेखि १२ सम्म हुने भनिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको एक महिनापछि धकेलिएको छ ।
विभिन्न प्रतियोगिता समेत यही मितिमा परेको कारण एक महिना धकेलिएको आयोजकले जनाएको छ ।
अब आगामी फागुन १७ गते देखि २४ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिता इलाम सदरमुकाम स्थित ठुलो टुँडिखेलमा हुने आयोजक ओएसिस क्लबले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
महिला लिग, यु–२० महिला साफ च्याम्पियन र फोर नेसन कपसमेत यही मितिमा परेकाले प्रतियोगिता सार्नुपरेको आयोजक समितिका सचिव रोशन राईले जानकारी दिए । उनका अनुसार खेलाडीको समय मिलाउन प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको हो ।
प्रतियोगिता आयोजक समिति अध्यक्ष च्याङ मुखियाका अनुसार तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लब, डिफेन्डिङ च्याम्पियन भारतीय पाहुना टोली मानेभञ्ज्याङ, भारत उत्तर प्रदेशको मदर टेरेसा क्लब, ओखलढुङ्गाको पद्मा स्पोर्टिङ, बाग्मती युथ क्लब र आयोजकले प्रतियोगितामा भाग लिनेछन् ।
विजेता टिमले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउने छन् ।
५१ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको प्रतियोगिता सञ्चालन गर्न विभिन्न क्षेत्रबाट आर्थिक सहयोग सङ्कलनको काम भइरहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया