इटहरी : इटहरी २० तरहरामा यही फागुन २४ गते शनिबार हुने दोस्रो तरहरा ‘१० के रन’को तयारी तीव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताबारे जानकारी दिँदै तयारी तीव्र पारिएको जानकारी दिइएको हो ।
तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार विभिन्न आठ वटा विधामा दौड प्रतियोगिता हुनेछ ।
जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी हुनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल, प्रमाणपात्र प्राप्त गर्नेछन् ।
यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१६ देखि ४० वर्ष उमेर समूहकाहरूले १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी ४० देखि ६० वर्ष उमेर समूहकाहरूले पनि १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजार प्राप्त गर्नेछन् । यस्तै, ६० वर्षदेखि माथि ७५ वर्ष उमेर समूहकाले पनि १० किलोमिटर दौडमा सहभागी हुन पाउनेछन् । जसमा तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी स्पाइनर इन्जुरी भएकाहरूको समूहले एक किलोमिटर दौडमा सहभागी हुनेछन् । उनीहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, गृहिणी तथा पारिवारिक रमाइलो दौडमा तीन किलोमिटर र विदेशमा रहेकाहरूले १० किलोमिटर दौडमा सहभागी हुन पाउनेछन् । उनीहरूलाई मेडल र प्रमाणपत्र उपलब्ध गराइनेछ । जुनसुकै विधामा पनि पुरुष, महिला दुवैले सहभागी जनाउन सकिने र अहिले दर्ताको काम भइरहेको अध्यक्ष राईले जानकारी दिए ।
क्षमतावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई संरक्षण गर्न र समाजलाई दौडसँग जोड्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । उनका अनुसार दौडमा सहभागी सबै धावकहरूलाई प्रमाणपत्र र मेडलसमेत उपलब्ध गराइनेछ ।
‘आम मानिसलाई दौडप्रति अभिप्रेरित गर्ने हाम्रो उदेश्य हो,’ राईले भने, ‘हामीले हरेक शनिबार साप्ताहिक रूपमा दौडमा सहभागी हुँदै आएका छौँ । विद्यार्थीहरू पनि यसमा सहभागी छन् । आज साप्ताहिक दौड ८० हप्तामा जारी छ ।’
कार्यक्रम संयोजक मीनकुमार खवासका अनुसार इटहरीको पहिचान झल्किनेगरी मेडल निर्माण गरिएको छ । दौड प्रतियोगितामा दुई हजार दुई सय धावक, धाविकाहरू सहभागी हुने बताइएको छ ।
कोशी प्रदेशसहित र खासगरी भारतको सिक्किम, दार्जिलीङ, मिरिकलगायतबाट धावक, धाविकाहरू सहभागी हुने र करिब १९ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
प्रतिक्रिया