इटहरी : तराईमा मुसहर समुदायलाई अति सीमान्तकृत समुदायको रूपमा लिने गरिन्छ । २०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार नेपालमा २ लाख ६४ हजार ९ सय ७४ जनसङ्ख्या मुसहर समुदायको छ । यो समुदाय राज्यबाट पाउने सुविधाहरूबाट पनि वञ्चितजस्तै हुन्छन् ।
समग्रतामा रहेको माथि उल्लेखित पृष्ठभूमिलाई चिर्नका निमित्त राज्यले आवश्यक लगानी गरिरहेको विभिन्न मञ्चहरूमा सुन्ने गरिन्छ ।
जसमा कविता ऋषिदेव एक बनेकी छन् । मुसहर समुदायकी ऋषिदेव कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको सचिवालयमा नियुक्त भएकी छन् ।
भण्डारीले उनलाई आफ्नो सचिवालयको सूचना प्रविधि सहायक पदमा नियुक्ति दिलाएका हुन् । इटहरी १७ निवासी ऋषिदेवलाई जातीय हिसाबले पिछडिएको वर्गको प्रतिनिधित्वका साथै पहुँचको लागि पनि आवश्यक ठानेर नियुक्त गरिएको भण्डारीले उल्लेख गरेका छन् ।
‘मन्त्रीज्यूले सबैको सहभागिता होस, पछाडि परेकाहरूको पनि मन्त्रालयमा सहभागिता होस् भन्ने हेतुका साथ सचिवालयमा नियुक्त गर्नुभएको हो,’ प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालिरहेका दीपक श्रेष्ठले प्रदेश खबरसँग भने ।
कविता हाल बिएएलएलबिमा अध्ययनरत समेत रहेकी छन् । सफलता र उदाहरणका सन्दर्भमा प्रदेश खबरको जिज्ञासामा कविताले भनिन्,‘आफ्नो मिहिनत र परिश्रमका साथ म यहाँसम्म आएकी छु । समाजमा केही गर्न सक्ने र यो समुदायले केही गर्न सक्दैन भन्ने कुरालाई हटाउनु पनि पर्दछ ।’
उनकै अनुसार पनि मुसहर समुदाय अत्यन्त पिछडिएको समुदायको रूपमा रहेको छ । उनले भनिन, ‘शिक्षा नै आजको आवस्यकता हो । हामी पनि पढ्न सकेउ भने माथी पुग्न सकिन्छ ।’
तत्कालीन कानुन मन्त्री लीलावल्लभ अधिकारी जापान प्रकरणमा मुछिएर राजीनामा गरेपछि रिक्त रहेको मन्त्रालयमा भण्डारी गत मङ्सिर १७ गते मन्त्री पदमा नियुक्त भएका हुन् । नियुक्त भएपछि उनले आफ्नो सचिवालयको प्रमुख स्वकीय सचिवको जिम्मा श्रेष्ठलाई दिएका छन् ।
यसैगरी हलुका सवारी चालकमा मणिकराम चौधरी र दुई कार्यालय र आवास सहयोगीका रूपमा नियुक्त भएको सचिवालय प्रमुख श्रेष्ठले जानकारी दिए । मन्त्री भण्डारीले स्वकीय सचिव भने नियुक्त गरेका छैनन् ।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन अनुसार मन्त्रीले ६ जनासम्म कर्मचारी सचिवालयमा नियुक्त गर्न सक्ने हुन्छन् ।
जसमा राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको प्रमुख स्वकीय सचिव, राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरहको स्वकीय सचिव र राजपत्र अनङ्कित द्धितिय श्रेणी वा सो सरहको सूचना प्रविधि सहायक र श्रेणिविहीन प्रथम स्तरका हलुका सवारी चालक, कार्यालय सहयोगी र आवास सहयोगी राख्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया