सुनसरीमा एक हजार पाँच सय यौनकर्मी महिला, अधिकांश महिलाहरू लागूऔषधको कुलतमा

शुक्रबार, ०४ माघ २०८१
इटहरी : सुनसरीका अधिकांश यौनकर्मी महिलाहरू लागूऔषधको लतमा फसेको सरोकारवालाहरूले बताएका छन् । सेक्स वर्कर महिलाहरूको हकहितमा कार्यरत संस्था महिला सहयोगी समूह इटहरीले शुक्रबार पत्रकार भेटघाट गरी उनीहरूको संख्या थपिएसँगै कुलतमा फस्नेको संख्या पनि बढ्दै गएको बताएका हुन् । सेक्स वर्कर महिलाहरूमा लागूऔषध खाने बानी छुट्ने छनक नदेखिएको कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष ज्ञाना खड्काले बताइन् । उनकाअनुसार अहिलेसम्म दुई सय ५० जना नसालु पदार्थ जाँड, रक्सी र चुरोटको लतमा फसेका छन् । यस्तै, धरान क्षेत्रमा १५ जना भन्दा बढी यौनकर्मी महिला कडा खालको लागूऔषध प्रयोग गर्ने गरेका छन् । खासगरी मानसिक तनावमा रहेका सेक्स वर्कर महिलाहरूले तनाव कम गर्नका लागि जाँड, रक्सी र चुरोटसँगै कडा खाले लागूऔषध प्रयोग गर्ने गरेका हुन् । ‘एकातिर सेक्स वर्कर महिलालाई मानसिक पीडा छ भने अर्कातिर उनीहरूसँग बस्ने पुरुष ग्राहकले नसालु पदार्थ नखाईकन रमाइलो नै हुँदैन भनेर बाध्य पार्ने गरेका छन,’उनले भनिन्, ‘यसरी नसालु पदार्थ सेवनले गर्दा दुवैको ज्यान जोखिममा रहने गरेको छ ।’ महिला सहयोगी समूहले नसालु पदार्थ प्रयोग गर्ने महिलालाई परामर्श दिने गरेतापनि पर्याप्त नभएकाले गर्दा सरकारी निकायबाटै कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिन् । यहाँ कार्यरत सेक्स वर्कर महिला आफ्ना श्रीमानका कारण पनि त्यो पेसामा संलग्न हुने गरेका छन् । विशेषगरी इनरुवा क्षेत्रमा आफ्ना श्रीमानकै कारण महिला सेक्स वर्कर बनेका छन् । कतिपय आर्थिक अवस्था दयनीय भएका परिवारमा पुरुषले नै श्रीमतीलाई प्रोत्साहन गर्ने गरेको पत्रकार भेटघाटमा जानकारी दिइयो । महिला सहयोगी समूहले यौनकर्मी (सेक्स वर्कर) भन्नाले वयस्क व्यक्तिहरूद्दारा सहमतिमा पारिश्रमिक लिएर गरिने कार्य भएको जनायो । नेपालमा ६७ हजार तीन सय सेक्स वर्कर महिला रहेका छन् । जसमा सुनसरीमा एक हजार पाँच सय सेक्स वर्कर रहेका छन् । सुनसरीमा रहेका सेक्स वर्कर महिलाहरू आफ्नै ग्राहकबाट समेत कतिपय सुरक्षित नभएको जानकारी दिइयो । खासगरी सेवालिने र पैसा नदिने नियत राखेका ग्राहकबाट महिलाहरू सुरक्षित नभएको महिला सहयोगी समूहकी कार्यकारी निर्देशक विमला ठकुरीले बताइन् । उनकाअनुसार महिला सहयोगी समूहले अहिलेसम्म सेक्स वर्कर महिलामध्ये एचआइभी/एड्स, यौन रोग, हिंसा र क्यान्सरबाट बचाउन विभिन्नखाले कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वासा नेपाल काठमाडौँले १७ वटा सिभिओ सहित अन्य संस्थासगँको सहकार्यमा यौनकर्मी महिलाहरूको हक हितमा सक्रिय रूपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार