मोरङको केराबारी र बेलबारीमा भेटियो २ जनाको शव

आइतबार, ०६ माघ २०८१
विराटनगर । मोरङको केराबारी र बेलबारीमा २ जनाको शव भेटिएको छ । मृत फेला परेका दुवै जना पुरुष हुन् । एक जनाको भिरमा र अर्का एक जनाको सुतेकै ठाउँमा शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–९ स्थित धरधरे सामुदायिक वनको भिरमा वृद्ध पुरुषको शव भेटिएको छ । केराबारी–८ का ६७ वर्षीय पर्शुराम न्यौपाने मृत फेला परेको जानकारी जोशीले जानकारी दिए । उनका अनुसार न्यौपाने गाई बाँध्ने घोचा काट्न भनेर शनिवार अपराह्न ४ बजेतिर घरबाट निस्किएको खुलेको छ । घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजतलास गर्ने क्रममा भिरबाट करिब २० मिटर तल खसेको अवस्थामा आइतबार बिहान मृत फेला पारेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । गाईलाई घोचा काट्ने क्रममा भिरबाट लडेर न्यौपानेको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै, बेलबारी नगरपालिका–८ गिरीगाउँमा १ जना पुरुष मृत फेला परेका छन् । भक्तबहादुर ओझाको घरमा काम गरेर बस्ने मोरङको मङ्गलवारे घर बताउने अन्दाजी ५६ वर्षीय डम्का राजवंशी सुतेकै ठाउँमा आइतबार बिहान मृत फेला परेका हुन् । राजवंशी कटेरोमा सुतेका थिए । नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरिएको स्थानीयको भनाइ छ । चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार