दिल्ली : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नुपर्ने बताएका छन् ।
आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बीपी विचार र प्रवासी समस्या विषयक अन्तर्क्रिया,प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रीत प्रवृत्ति हाबी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे ।
प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने, ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका बीचमा समस्याहरू आउनु स्वभाविक हो । ती समस्याहरूको समाधान कुटनीतिक रूपमा वार्ताको टेबुलमा बसेर हल गर्नुपर्छ।’
कार्यक्रममा बोल्दै डा. महतले माओबादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले कांग्रेस गठबन्धन बनेको बताएका छन् ।
सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नुपर्ने कुरामा जोड दिदैँ उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने कुरा पनि बताए ।
प्रतिक्रिया