‘हिसान स्पोर्टस् मिट २०८१’ माघ १३ देखि सुरु हुने

सोमबार, ०७ माघ २०८१
इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीले माघ १३ गतेदेखि हिसान स्पोर्टस् मिट २०८१ सुरु गर्ने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा ११ औँ संस्करणको स्पोर्ट्‌स मिट एक सातासम्म हुने जानकारी दिइएको छ । एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिए । विगत दुई वर्षदेखि सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिए । विगतका वर्षहरूमा हिसान सुनसरीमा आबद्ध शिक्षालयका बिद्यार्थीहरुको मात्र सहभागिता सुनिश्चित गरिएको हिसान रनमा यस पटक पब्लिक क्याटगोरी अन्तर्गत जो कोहीलाई खुला गरिएको संयोजक लुइँटेलले जानकारी दिए । स्पोर्टस मिटअन्तर्गतको फुटबल इटहरीको तालतलैयास्थित बुढासुब्बा खेलमैदानमा हुनेछ भने क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा गरिनेछ । भलिबल पूर्वाञ्चल मावि तरहरा इटहरीमा, बास्केटबल धरानस्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ । माघ १९ गते धरान आदर्श सेकेण्डरी स्कुलमा नृत्य प्रतियोगिताको गर्दै स्पोर्टस मिट समापन गरिने छ । सुनसरी जिल्लाभरिका ८ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार