लामिछानेसहित सात जनालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता

सोमबार, ०७ माघ २०८१
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय पोखराले सोमबार कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा जिल्लाको आदेशमा चित्त नबुझेपछि निवेदन दर्ता गराएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेसहितलाई धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयकी जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि पुस २९ गते नै आफूहरूले उच्च सरकारी वकिल कार्यालयमा निवेदन पठाएको जानकारी दिए। सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी अपचलन गरेको अभियोगमा लामिछानेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ । सोही अभियोगमा पक्राउ पर्नुभएका सूर्यदर्शनका पूर्व सञ्चालक कृष्ण गुरुङ, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङ, गोरखा र हर्बो इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल र लीला पछाईलाई जिल्ला अदालत कास्कीले धरौटी छाडेको थियो । लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३६ लाख, रामबहादुर खनालसँग १५ लाख, कृष्ण गुरुङसँग एक लाख, मीना गुरुङसँग र आरती गुरुङसँग जनही पाँच लाख धरौटी माग भएको थियो । पोखराको सूर्यदर्शन समेतका सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानहरूले देखाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार