विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्तो बताएका हुन् ।
‘देश सरकारले चलाउने हो । तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले चलाउन खोजेजस्तो देखिन्छ,’ उनले भने ।
‘हामी ‘डेमोक्रेटिक सिस्टम’मा छौं । ‘डेमोक्रेटिक सिस्टम’मा संयन्त्रले देश चलाउने होइन, सरकारले चलाउने हो । कुरा बुझ्नु् भयो ? संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री । यो गलत हो । बिलकुल गलत हो,’ कोइरालाले भने ।
नेपाली कांग्रेस र एमाले को गठबन्धन सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि भनेर संयुक्त संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र छन् । ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ । कोशीमा बनको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो । तर, बजेट पुनरावलोकन नहुने जानकारी सरकारले दिइसकेको छ ।
दुई दलले वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन् । डाक्टर कोइरालाले संयन्त्र बनाउने काम गलत भएको दाबी गरे । ‘२०५१ सालमा एमालेको सरकार थियो । त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नु हुन्थ्यो । हामीजस्तो मान्छे जाँदाखेरी उहाँको के काम छ ? भन्दै सोध्नुहुन्थ्यो ।, फेरि संयन्त्रले त्यही गर्न खोजिरहेको छ,’ उनले भने ।
संयन्त्र कम्युनिस्ट मुलुकमा मात्रै हुने उनले बताए । ‘कम्युनिस्ट ‘कन्ट्री’हरुमा हुन्छ संयन्त्रहरु । ‘डेमोक्रेटिक कन्ट्री’मा त देश सरकारले चलाउने हो नि । देश सरकारले नै चलाउनुपर्छ,’ कोइरालाले भने ।
प्रतिक्रिया