विराटनगर : विराटनगरबाट विभिन्न समयमा हराएका पाँच जना बालबालिकालाई भारतको कटिहारमा भेटेर उद्धार गरिएको छ । उद्धार गरेर उनीहरूलाई शनिबार विराटनगर ल्याइएको छ ।
उद्धार गरिएकामध्ये तीन जना बालक र दुई जना बालिका छन् । तीमध्ये दुई जना एक वर्षअघि र तीन जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरू ७ देखि १७ वर्षसम्मका छन् ।
भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र एक सय चार कोशी प्रदेशले उद्धार गरेर विराटनगर ल्याएको हो ।
भारतमा भेटिएका बालबालिकालाई प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको केन्द्रका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बताए ।
उनका अनुसार बालबालिकालाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रोहबरमा विराटनगर महानगरपालिकामार्फत सम्बन्धित परिवारसँग आइतबार पुर्नमिलन गराइने छ ।
‘बालबालिका हराएको सूचना आएसँगै लामो समयदेखि खोजतलास भइरहेको थियो । भारतमा फेला परेको जानकारी आयो ।
आवश्यक समन्वय गरेर प्रक्रिया पूरा गरी नेपाल ल्याइएको छ । अब उनीहरुलाई अभिभावकको जिम्मा लगाउने छौं,’ उनले भने ।
अधिकारीका अनुसार पाँचै जनालाई भारतको बलकल्याण समितिले उद्धार गरेर कटिहारस्थित बालकल्याण गृहमा राखेको थियो ।
राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रको टोली कटिहार पुगेर उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो ।
उद्धार गरिएका बालबालिकाहरू मुस्लिम र मधेशी समुदायका हुन् । विराटनगरबाट भारतको कटिहार एक सय २४ किलोमिटर टाढा पर्छ । उद्धार टोलीलाई कटिहार पुग्दा गाडीमा चार घण्टा समय लागेको थियो ।
प्रतिक्रिया