भारतबाट उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा

आइतबार, १३ माघ २०८१
विराटनगर । भारतबाट उद्धार गरेर विराटनगर ल्याइएका ५ जना बालबालिकालाई आइतबार अभिभावकको जिम्मा लगाइएको छ । उनीहरुलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत परिवारसँग पुर्नमिलन गराइएको हो । विराटनगरबाट विभिन्न समयमा हराएका २ जना बालक र ३ जना बालिकालाई उद्धार गरेर शनिबार विराटनगर ल्याइएको थियो । तीमध्ये २ जना १ वर्षअघि र ३ जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरु ७ देखि १७ वर्षसम्मका छन् । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभअवसर ग्रामको समन्वयमा उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशले उद्धार गरेर विराटनगर ल्याएको हो । केन्द्रका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकालाई अभिभावकसँग पुर्नमिलन गराइएको जानकारी दिए । उनका अनुसार भारतमा भेटिएका बालबालिकालाई प्रक्रिया पूरा गरेर ल्याएपछि अभिभावको जिम्मा लगाइएको हो । ‘बालबालिका हराएको सूचना आएसँगै लामो समयदेखि खोजतलास भइरहेको थियो । भारतमा फेला परेको जानकारी आयो । आवश्यक समन्वय गरेर प्रक्रिया पूरा गरी नेपाल ल्याइयो । अभिभावकको जिम्मा पनि लगाइसकेका छौं,’ उनले भने । अधिकारीका अनुसार पाँचै जना बालबालिकालाई भारतको बलकल्याण समितिले उद्धार गरेर कटिहारस्थित बालकल्याण गृहमा राखेको थियो । राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रको टोली कटिहार पुगेर उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । उद्धार गरिएका बालबालिकाहरु मुस्लिम र मधेशी समुदायका हुन् । विराटनगरबाट भारतको कटिहार १ सय २४ किलोमिटर टाढा पर्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार