रविलाई पुनः धरौटीमा छाड्न आदेश, रुपन्देहीमा एक करोड बुझाउनुपर्ने

आइतबार, १३ माघ २०८१
रुपन्देही : रवि लामिछानेलाई पुनः धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए । त्यसपछि अदालतले आदेश दिएको हो । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार