इटहरी : मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ ।
मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले माघ १५ गते मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।
पाथिभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथिभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको आह्वान गरेका हुन् ।
सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरूले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन् ।
ती संगठहरूले चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंकको खाता बन्द गर्न आह्वान गरेका छन् भने माघ १४ गते बैंकको अगाडि शान्तिपूर्ण धर्ना दिने बताएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरीको ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग पनि राखेका छन् ।
शनिबार ‘नो केबलकार समूह’ र प्रहरीबीच दुई पटक झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं पुर्याइएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ–५ का सगुन लावती र फुङलिङ–८ दोखुका धर्मेन्द्र पालुङ्वालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
लिम्बू र लावतीलाई गोली लागेको छ । लावतीको खुट्टामा र लिम्बूको कोखामा गोली लागेको जनाइएको छ । पालुङ्वाको भने कुममा चोट लागेको जनाइएको छ ।
प्रतिक्रिया