सुनसरीमा चालकहरूले लागूपदार्थ सेवन गरेर चलाउँछन् सवारी, हालसम्म कति कारबाहीमा ?

आइतबार, १३ माघ २०८१
इटहरी : सवारी चालक तथा सह–चालकहरूले लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएपछि प्रहरीले कडाइ गरेको छ । सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार सवारी चालक तथा सह–चालकहरूले लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएपछि कडाई गरिएको हो । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति सुनसरीको अग्रसरतमा जिल्लास्थित विभिन्न सडकखण्डमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधनहरू चलाउने चालक तथा सहचालकले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेको, नगरेकोबारे जाँच गरेको थियो । जसअनुसार गत पुस २१ गते इटहरी २० तरहरामा चेकजाँच गर्दा १४ जनाले लागूपदार्थ सेवन गरेको पाइएको थियो । उनीहरूमध्ये ६ जनालाई पुर्पक्षका लागि झुम्का कारागार चलान गरिएको छ भने ८ जना धरौटीमा छुटेको सुनसरी प्रहरीले जनाएको छ । यसैगरी बर्जु गाउँपालिका ५ र ६ नम्बर वडामा दुई जनालाई पक्राउ गरिएको थियो । दुवैजना धरौटीमा छुटेका छन् । यसैगरी माघ ४ गते धरान ८ तीनकुनेबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको एसपी तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार आज (माघ १३) मा इनरुवा नगरपालिका ३ सखुवागाछीमा चेकजाँचको क्रममा १५ जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । सवारी चालक र सहचालकहरूले लागूपदार्थ र मादक पदार्थ सेवन गरे, नगरेको, सवारीको ढोका लगाए, नलगाएको सम्बन्धमा चेकजाँच गरी चेकजाँचमा खटिएका चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा पक्राउ परेका व्यक्तिहरूले लागूपदार्थ सेवन गरेको पाइएको थियो । सुनसरी प्रहरीले पछिल्लो समय सवारी साधन चेकजाँचमा कडाइ गरेको जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार