उमागौरी सहकारी रकम अपचलन प्रकरण : अध्यक्ष अदालतमा हाजिर भए

सोमबार, १४ माघ २०८१
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेर फरार बनेका सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा उपस्थित भएका छन् । लामो समयदेखि फरार रहेका उनी जिल्ला अदालत मोरङमा आफैं हाजिर भएका हुन् । उपस्थित भएलगत्तै अदालतले उनको बयान लिन सुरु गरेको छ । रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको बचत अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता भएको थियो । न्यायाधीश अरुणकुमार झाको इजलासमा रौनियारको बयान सुरु भएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बयान नसकिएपछि रौनियारलाई मंगलबार उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएर पठाइएको छ । बाँकी बयान मंगलबार लिइने उनको भनाइ छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । बुढाथोकीका अनुसार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि इजलासबाट रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ । लामो समयदेखि सरकारी बन्द गरेर फरार भएका रौनियार सुटुक्क अदालतमा उपस्थित भएका थिए । उमागौरी सहकारीको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले बुझाएको मिसिल ९अनुसन्धान प्रतिवेदन०का आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै मुद्दा दायर गरेको थियो । हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको हो । मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । उनलाई अदालतको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी मोरङ कारागार चलान भएका थिए । गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटिसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार