विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर आइन् । उनी विराटनगर आउनुको कारण भने विराटनगरसहित इटहरीमा हुने कार्यक्रमका लागि हो ।
तर, कार्यक्रमका आयोजकसँग मात्र नभइ भण्डारी राजनीतिक भेटघाटमा व्यस्त भएकी छन् । उनी सोमबार दिनभर बिग होटल विराटनगरमा नेकपा (एमाले)का कार्यकर्तासँग भेटघाट गरिन् ।
उनले पार्टीका नेता, महिला नेत्री, युवा तथा विद्यार्थीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेकी छन् । शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न सार्वजनिक कार्यक्रमका लागि पूर्व आएकी उनी माघ २० गतेसम्म कोशी प्रदेशकै राजधानी विराटनगरमा बस्ने तय भएको छ । बसाइका क्रममा उनले हरेक दिन राजनीतिक भेटघाट गर्ने तयारी छ ।
विराटनगरमा सोमबार पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने संकेतसमेत गरिन् ।
उनले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा फर्कने बताइन् । तर, कुनै दलमा आबद्ध हुने निर्णयमा हालसम्म नपुगेको उनको भनाइ छ ।
‘राष्ट्रपति पद गैरराजनीतिक होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेकी छु । शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु ।’
कतिपयले उनलाई एमालेको नेतृत्व गर्ने भनेर चर्चासमेत गरिरहेका छन् । एमालेको भावी अध्यक्षको भूमिकामा आउन चाहनुभएको हो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’
उनले सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई शुभकामनासमेत व्यक्त गरिन् ।
भण्डारी विराटनगरमा बसुन्जेल दैनिक १–२ वटा कार्यक्रम छन् । बाँकी समय भेटघाटमै व्यस्त रहने उनीनिकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सक्रिय राजनीतिमा आउनलाई तल्लो तहको सल्लाह एवं सुझाव लिने योजना स्वरूप भेटघाट तथा छलफललाई बाक्लो बनाएकी छन् ।
भण्डारीसँग छलफलका लागि विराटनगर र अन्य क्षेत्रका एमाले नेता कार्यकर्तालाई निम्ता गरिएको छ । उनको राजनीतिक भेटघाट र व्यस्ततालाई अर्थपूर्ण रूपमा लिइएको छ । कतिपयले राजनीतिमा फर्किने भण्डारीको रणनीतिका रूपमा बुझ्न थालेका छन् ।
एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेकाहरू उनलाई भेट्न होटल बिगमा पुगेका थिए । एमाले नेता विनोद ढकाललगायतका नेताहरूले भण्डारीलाई भेटेका हुन् । अरू कार्यकर्ताहरूसँग भेटघाट गर्ने उनै ढकालले समन्वय गरिरहेका छन् ।
ढकाल पछिल्लो समय एमालेभित्र ‘बाइपास’मा परिरहेका नेता हुन् । पार्टी अध्यक्ष ओलीको निर्देशन अटेर गरेका उनी एमालेको कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडासँग पराजित भएका थिए ।
अधिवेशन अगाडि नै ओलीबाट टाढिएका ढकाल विद्यादेवी भण्डारीको टिममा छन् । उनी विराटनगर रहँदा भेटघाटको ‘सेड्युल’ बनाउन ढकालको सहयोग रहने छ ।
एमाले मोरङका सहसचिव सोमराज थापाका अनुसार पूर्वराष्ट्रपति भण्डारीले मंगलबार इटहरीको जनता माविमा आयोजित कार्यक्रममा सहभागिता जनाउने छिन् ।
‘माघ १९ गतेसम्म उहाँको कार्यक्रमको ‘सेड्युल’ छ,’ थापा भन्छन्, ‘समय मिल्यो भने त्यही दिन, नत्र २० गते फर्कनुहुन्छ ।’
एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा पूर्वराष्ट्रपति भण्डारी सहभागी हुने सार्वजनिक कार्यक्रमबाहेक अन्य राजनीतिक भेटघाटको विषयमा आफूलाई जानकारी नभएको बताउँछन् ।
‘७ दिन उहाँ (भण्डारी)विराटनगरमा रहनुहुन्छ । इटहरीको जनता स्कुल, मनमोहन विश्वविद्यालय, मदन भण्डारी ट्रमा सेन्टर, मदन भण्डारी स्मृति प्रतिष्ठानलगायतको कार्यक्रम र अवलोकनका लागि पुग्नु हुनेछ । त्यासबाहेक सामान्य भेटघाट होला । राजनीतिक हिसाबको भेटघाटका बारेमा मलाई थाहा छैन,’ उनले भने ।
नेता कार्यकर्तासँग भेटघाट हुनु सामान्य भएको उल्लेख गर्दै खतिवडाले सक्रिय राजनीतिमा आउने तयारी रहेको विषयमा आफूलाई जानकारी नभएको बताए ।
भण्डारीको गृह जिल्ला मोरङ नै हो ।
उनी विराटनगर बसेर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पढेकी थिइन् । एमालेको उपाध्यक्ष हुँदा भण्डारीको कार्यक्षेत्र तत्कालीन पूर्वाञ्चल (हालको कोशी प्रदेश) नै थियो । दुई कार्यकाल राष्ट्रपति बनेकी उनी अब एमालेको अध्यक्ष बन्नेगरी राजनीतिमा आउने तयारीमा छिन् ।
‘तत्काल व्यक्त नगरेपनि भेटघाटको उद्देश्य सक्रिय राजनीति नै हो,’ भण्डारीको समूहमा रहेका एमालेका एक नेताले भने, ‘समय क्रमसँगै सबै कुरा विस्तारै आउँछ ।’ एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीबाट ‘हेपिएको’ समूह भण्डारीको खेमामा छन् । एमालेको नेतृत्वमा माधवकुमार नेपाल हुँदा मदन भण्डारी फाउण्डेशनमार्फत ओलीले आफ्नो गुटको विस्तार गरेका थिए ।
अहिले माधवकुमार नेपाल एमाले छाडेर एकीकृत समाजवादी पार्टीको नेतृत्वमा छन् । हिजो ओलीलाई फाउन्डेशनमार्फत गुट निर्माणमा सहयोग गरेकी भण्डारी अहिले सोही फाउन्डेशन र ओलीसँग असन्तुष्ट बनेका नेताहरुलाई भेला पारेर सक्रिय राजनीतिको गृहकार्य गरिरहेकी छन् ।
स्रोतका अनुसार भण्डारीले लामो समय विराटनगर बसेर सक्रिय राजनीतिको घोषणा गर्ने सम्भावना पनि छ । पार्टीभित्र ओलीबाट असन्तुष्ट बनेकाहरूको जमात ठूलो छ । असन्तुष्टलाई भेला पारेर भेटघाट एवं छलफल गर्नु नै सक्रिय राजनीतिको सन्देश भएको नेताहरू बताउँछन् ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल अस्थिर राजनीति भएको मुलुकमा राष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनौठो नभएको बताउँछन् । एमालेभित्र पेलिएका कार्यकर्ताको चाहना पनि पूर्वराष्ट्रपतिको सक्रिय राजनीति नै भएको उनीको विश्लेषण छ ।
‘मुलुकको राजनीतिको माग के छ ? त्यसमा पनि भर पर्छ । सही ढंगले मुलुकको राजनीति चलेको भए कसैले फर्केर हेर्दैन थिए । पूर्वराष्ट्रपति आफ्नो सम्मानित ठाउँमा बस्नुपर्छ भन्ने अर्थमै जान्थ्यो,’ उनले भने, ‘तर, मुलुकको परिस्थिति राम्रो छैन । हिजो राष्ट्रपति भएकै कारणले सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने कुरा व्यक्तिको आफ्नो मापदण्डको विषय हो ।’
प्रतिक्रिया